Khoyaa

Menu

 

Ma ek Nepali hu ani Madhesi hu !

म मधेशमा जन्मे हुर्केको एउटा नेपाली नागरिक हुँ। जुन विदेशबाट धेरै पढेर आएका एक व्यक्तिले मधेसी जनतामाथि भएको अत्याचार र दमनको कुरा गरेका छन्, त्यो उहाँको पालामा थियो होला तर मैले अहिलेसम्म त्यो महसुस गरिनँ। “मधेसी” भनेर आजसम्म मलाई कसैले हेपेको छैन। “मधेसी” भनेर आजसम्म कुनै पनि स्कूलले मलाई भर्ना नदिने भनेको छैन। म पढेको स्कूलमा हामी मधेसी-पहाडी संगै पढ़थ्यौं, खेल्थ्यौँ। पहाडीहरू पनि मेरा इस्टमित्र थिएँ। अहिले पनि मेरा इस्टमित्रहरुमा मधेसी र पहाडी सबै छन्। हामी सबै अहिलेसम्म त मिलेरै बसेका छौं। मलाई कुनै पनि बस या प्लेनमा “मधेसी” भनेर चढ्नबाट रोकेको छैन। “मधेसी” भनेर कसैले मेरो घर जलाएको छैन। केहि वर्ष अगाडीसम्म हामी सपरिवार विराटनगरमा डेरा लिएर बस्थ्यौं। घर मालिक पनि पहाडी नै थिए। खै त एक वर्षसम्म घरभाडा दिन नसक्दा पनि हामीलाई घरबाट निकालेनन्। जहिले पनि राम्रै व्यवहार गरे। “पैसा भएपछी दिनु भन्थे।” त्यस्तो समयमा यदि उनले हामीलाई घरबाट निकालेका भए हामी बेघर हुनेथ्यौ। त्यस्तो समयमा पनि सहयोग गर्ने पहाडी नै थिए। यति त सायदै कुनै मधेसीले पनि अर्को मधेसीको लागि गर्ला।

मैले “मधेसीलाइ कसैले हेपेको छैन” पनि भन्न खोजेको हैन, मैले आफ्नो अनुभव मात्र भनेको हुँ। मधेसीलाई धेरैले हेपेका छन्। पहिले मधेसीलाई हेप्नेको संख्या धेरै थियो तर अहिले त्यो धेरै घटेर गएको छ र भविस्यमा हराउने छ, किनभने अहिलेको समाज प्रगतिशील छ। अब नेपालमा विभिन्न तहहरुमा कुरा गर्नुहुन्छ भने मधेसीभन्दा पहाडीकै बाहुल्यता छ। अहिले विभिन्न ठुला तहहरुमा मधेसी जनता पुगेका छन्, हकअधिकार पाउदैछन्। अरु त अरु राष्ट्रपति र उपराष्ट्रपति पनि मधेसी नै भएका छन्। केहि समय लाग्ला तर हामी पनि अरु जात, समुदायका नेपालीहरु जस्तै हरेक क्षेत्रमा पुग्ने छौं।

हेपाइकै कुरा गर्नुहुन्छ भने पहिले हामी आफ्नै मधेसी समाजदेखि सुरु गरौँ। तपाई हामीकै गाउँमा तल्लो वर्गका जातिलाई कतिको हेपिन्छ? उनीहरुको त पानी पनि चल्दैन होला घरमा। खै त मधेसी जनताले कहिले उनीहरुको बारेमा आवाज उठाएको? उनीहरुलाई पनि के मधेशबाट पछी छुट्टै राज्य दिने हो? के राज्य लिएर मात्र अधिकार, पहिचान पाईन्छ? यो हेपाहा प्रव्रिती, छुवाछुत हट्छ? अहिले त मधेशमा कति यस्ता पनि जनता छन् जसलाई यो बन्दको बेला छाक टार्न पनि गार्हो पर्छ। उनीहरुलाई यो आन्दोलनदेखि केहि मतलब पनि छैन। “मधेसी, मधेसी” भनेर हल्ला गरेर मात्र केहि हुदैन, ‘आफ्नो आङको भैसी नदेख्ने र अरुको आङको जुम्रा खोज्ने’ काम हामी नगरौं। सुधार्नुपर्ने हामीमै धेरै कुप्रथा, कुरिती छन्, हामी आफू पनि सुध्रिऔँ, सँगसँगै समाज पनि सुधारौं। वास्तवमा मधेसी जनतालाई हेप्ने पहाडीभन्दा पनि मधेसी जनता आफै हुन्, जो नेता बनेका छन्, जो पहिले देखीका साहु हुन्, सामन्त हुन्। उनीहरुको विरोधमा शान्तिपूर्ण ढंगले लडौं हामी। अमेरिकाको उदाहरण दिएका छन् एकजनाले, के त्यहाँका कालो वर्णका जनताले छुट्टै राज्य पाए? अहिले उनीहरुसंगै मिलेर बसेका छन्, काँधमा काँध मिलाएर देशको उन्नतितर्फ लागेका छन्, अमेरिकी स्वतन्त्रता र संविधान लेखनको २०० वर्षभन्दा बढी समयपछी बल्ल उनीहरुले काला जातीका पहिलो राष्ट्रपतीको रुपमा बाराक ओबामालाई पाएका छन्। हामीले पनि अरुको ईतिहासबाट सिक्नुपर्छ।

जुन हामीले छुट्टै मधेश प्रदेशको माग गरेका छौं, के त्यसले मधेशको समस्याहरु हल हुन्छ? तपाईलाई लाग्दैन कि यो मधेसीहरु प्रतीको बढ्दो नराम्रो धारणाको अब एउटा कारण पनि हुन्छ भनेर? त्यस्पछी त साचिकै मधेसीलाई बसमा चढ्न नदेला, राम्रो स्कूलमा भर्ना नपाउला, हामीहरु पहाडीहरुलाई त्यसै गरौंला। अनि पहाडमा बसोबास गरिरहेका मधेसीहरु कता जाने? मधेशमा बसोबास गरिरहेका पहाडीहरू कता जाने? जसले जातको नाममा घर जलाउने काम गर्छ, उनीहरुलाई हामी पाठ पढाऔं, आफै भाग्ने काम नगरौँ हामी, पहाडी-मधेसी बीचको जुन सौहाद्र वातावरण हुने गर्थ्यो, त्यो नबिगारौं। यो नेताहरुले बोलाएका गुण्डाहरुले गरेको काम हो। आफ्नो स्वार्थका लागि नेताहरुले देश टुक्रयौन भरपुर कोशिश गरिरहेका छन् र हामी पनि त्यस्कैपछी लाग्दैछौं। नेताहरु त जहिले पनि आरामले कुर्सिमा, ACको हावा खाएर बसेका छन्। यहाँ मर्ने त आमजनता नै हुन्। भर्खरका जवान ठिटाहरुलाई भड्काएर, लोभ्याएर, तर्साएर जोशमा ल्याएर आन्दोलनमा उतारेका छन्। त्यस्मा केहि गुण्डाहरु हाल्दिन्छन् जसले दंगा सुरु गर्छन्, जोशमा आएर अरु पनि सुरु हुन्छन। ती गुण्डाहरु त भागीहाल्छन् अनि आमजनतालाइ मर्नका लागि छोड्दिन्छ।

उदाहरण म दिन्छु तपाईलाई, पाकिस्तान भारतबाट छुट्टीदा त्यहाँको के हालत भएको थियो त्यो त धेरैलाई थाहा नै होला। अब हाम्रो पनि त्यही भविस्य देख्दैछु म। अहिले जातीय आधारमा विभाजन गरिएका केहि अफ्रिकी मुलुकहरुमा के हालत छ त्यो पनि थाहा नै होला। गृहयुद्द चर्किएको छ ती देशहरुमा। हामी आफ्नो देशलाई बचाएर राखौं। अहिले पनि धेरै मधेसी छन् जो मधेसमा मात्र हैन, नेपालमा बस्न चाहन्छन्। अहिलेको प्रदेश नं २ सार्है कम्जोर भयो रे। अब त्यस्को हल कसरी निकाल्ने त? झापा, मोरंग, सुनसरी राजबंशीलाई चाहियो रे। पश्चिमको तराई थारुहरुलाई चाहियो रे। बरु सबैजना मिलेर ५ विकास क्षेत्रकै माग गरौं न। जति मेहनत हामी मधेश प्रदेश बनाउन गर्दैछौं, त्यति मेहनत बरु मिलेर बस्नमा गरौं न, मिलेर नेपाल बनाउनमा गरौँ न। मलाई त ५ विकास क्षेत्र, १४ अंचल र ७५ जिल्ला भएकै देश ठिक छ। मलाई कुनै प्रदेश चाहिएन। यदी मधेश प्रदेश बन्यो भने म त्यसबाट आफ्नै “कर्ण प्रदेश”को माग गर्नेछु किनकि हामी बाहुनभन्दा तल्लो जातका हौं। कुनै न कुनै बाहुनले पक्कै पनि हेपेकै होला नि हाम्रो जातलाई।

साँच्चै मधेशको उत्थान गर्ने हो भने हामीले आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्छ। सबै नेपाली मधेसी या पहाडी एक जुट भएर बस्न सिक्नुपर्छ। जसले मधेसीलाई अवहेलना गर्छ उनीहरुको सोचमा परिवर्तन ल्याउन खोजौं हामी। हामि सबै मधेसी पनि छुट्टै प्रदेशको माग गर्दैनौ। यो सिमित स्वार्थी नेताहरुले भड्काएर भड्केका जनताहरुको माग हो। नेताहरुलाई त राज्यको मुख्य मन्त्री बन्नु छ, पहिले अहिले जस्तै राज गर्नुछ। साँच्चै नै जनताको हीतका लागि सोचेका भए अहिलेसम्म धेरै हीत गरेका हुन्थे। तर अहिलेसम्म उनीहरुले रगत चुस्ने काम मात्र गरे। हाम्रो वास्तविक समस्या भनेको मधेशका केही पढेलेखेका भनाउदा मान्छेहरु हुन् जो छुट्टै प्रदेश चाहन्छन्। जसको पछाडी अशिक्षित सोझा जनताहरु आँखा चिम्लेर लागेर देश टुक्र्याउन चाहन्छन्। त्यही भएर पहिले हामी शिक्षित र बुद्दीजीवी वर्गले आफ्नो सोचमा परिवर्तन ल्याउन खोजौं र समस्त मधेसी जनतालाई के सही के गलत छर्लङ हुने गरी देखाइदीऔं।

मधेसीलाई हेप्ने प्रवृति हराउदै गएको छ र अझैं हराउछ भन्ने कुरामा म विस्वस्त छु। अहिले हामी मधेसी जनताले फरक राज्यको माग गरेर हो हाम्रो विरोधमा धेरैले बोलेको। नभए हामीसँग कसैको जातीय दुश्मनी छैन। कुनै पनि स्थितिमा हामीले छुट्टै प्रदेश माग गर्नु जायज हैन। नेपालमा हेपिएका जातजातीहरु धेरै छन् र सबैलाई अलग राज्य दिनु सम्भव पनि छैन। र धेरै मधेसी नेताहरुले भने जस्तो आफ्नो छुट्टै जातिय राज्य पाउनु नै पहिचान, अधिकार पाउने अन्तिम बाटो पनि हैन। तसर्थ हामी माथि उठ्नु छ भने सबै नेपाली एक जुट भएर उठ्नु पर्छ। यो बाहेक अरु केहि उपाय छैन। केहि मान्छेको मनस्थिति बदल्न समय लाग्ला तर हाम्रो जीत अवश्य हुनेछ। छुट्टै राज्यको माग गर्नु हाम्रो कायरताको प्रतिक हो, नेताहरुको आफ्नो स्वार्थ पूरा गर्ने बाटो हो। यहाँ दुनियाले के के गरिसक्यो र हामी भने अझै जातीयताको अधारमा देश बाढ्नमा अड्किरहेका छौं।

हिजोअस्ति आन्दोलनमा उत्रेका मधेसी जनतामाथि गोली चलाउने पहाडी हैनन्। त्यो एउटा हिंसात्मक बन्दै गएको आन्दोलनलाई शान्त पार्न गरिएको प्रहार हो, जसमा हिंसा भड्काउने गुण्डाहरु बचेर आमजनता मरेका छन्। गोली चलाउने न त पहाडी हुन् न त मधेसी। जात नै हेर्ने हो भने त गोली चलाउनेमा पनि मधेसी थिए। मर्ने गरी गोली चलाउनु सरासर गलत हो तर जातको नाममा हिंसात्मक आन्दोलन गर्नु त्यो भन्दा पनि ठुलो गल्ति हो। कैलाली काण्डपछी अब त पुलिसले गोली चलाएन भने आफु नै मरिन्छ कि भन्ने डर छ उनीहरुलाई। अब त हिंसा रोक्न भन्दा पनि आत्मरक्षामा गोली चलाउछन् होला उनीहरु।

हामी मधेसी भएर एक राम्रो उदाहरण बनौं। हामी आफुलाई नेपाली भनी चिनाउनमा गर्व गरौँ। हामी सबै मिलेर सिंगो नेपाल विकास गर्ने तर्फ लागौं। हामी केहि फटाहा, स्वार्थी र धुर्त नेताहरुको गफ सुनेर भड्किने काम नगरौँ। जसले जे भने नि पत्याउने, पछी कुद्ने भेडा जस्तो नबनौं हामी। हाम्रो समाजमा रहेका अशिक्षा, घरेलुहिंसा, अन्धविश्वास, जातीय भेदभाव जस्ता सामाजिक विसंगतिहरुसँग लडौं हामी, न कि आफ्नै देशका दाजुभाई दिदिबहिनीहरुसँग।

What I want to say is that there is some good in this world and it’s worth fighting for. So fight for the good people, for the good of our own country not just for ‘madhesh’ or other states. Let’s fight to make this country united and not to divide into pieces. Just ask yourself “Will anything that you are doing make this country a better place to live or better to leave?”

ध्यान रहोस् हामी अहिले जुन दिशातर्फ लागेका छौं त्यसले जातीय भेदभाव चरम सीमामा पुग्छ। के हामीले आफ्नो लागि सोचेको समाज के एउटा जातीय प्रदेश पाएर मात्र पुरा हुन्छ त? के यही नै पहिचान, अधिकार र समानताको अन्तिम बाटो हो त? के हामी मिलेर आपसी समझदारीमा हाम्रा समस्याहरुको समाधान खोज्न सक्दैनौं? हामी मधेसी, पहाडी, थारु, राजवंशी, राई, लिम्बु, तामाङ जे भए पनि एउटा सिंगो राष्ट्र बनाउन तर्फ लागौं न। एउटा बन्द मुक्त समाज र राष्ट्र निर्माण गर्ने तर्फ लागौं न। के तपाईंहरुलाई देशमा अब धेरै रगत बगिसक्यो जस्तो लाग्दैन? र साँच्चै हाम्रा केहि नन-मधेसी साथीहरु, अब देखी हामीलाई “धोति या बिहारी” भनेर संज्ञा दियौ भने ठिक हुने छैन। म नेपाली नै हुँ, मेरा पुर्खाहरु पनि नेपाली नै थिए। म आफुलाई नेपाली र मधेसी दुवै भन्नमा गर्व गर्न चाहन्छु।

अन्तमा यो देशभक्ति गीत-

सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल, मेची काली सिंगै ढिक्को साझा हाम्रो ज्यान नेपाल।
चोट मलाई पर्दामा दुख्छ भने यदी तिम्रो ज्यान, त्यै हो त्यै हो नेपालीको राष्ट्रियताको मुल निशान।।
सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल, यही अभिमानी शिर उचाली हाँसीरहोस् यो उच्च हिमाल।।।

Source

Comments

comments

Categories:   Articles